काठमाडौं - सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।
सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरुलाई ३:४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।
आजै दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपछि सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नेछन् । आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस गर्ेछन् भने प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ पेस गर्नेछन् ।
साथै आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् ।
साथै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस गर्नुहुनेछ भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नेछन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नुहुने कार्यसूची छ ।
साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।


0 comment