काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन चलाएर कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लापरबाहीपूर्ण सवारी साधन चलाएर १५–२० पटक कारवाहीमा परेका चालकहरुको चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले यहि महिनामात्रै ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाइएको जानकारी दिए ।
उनले राइडर सेवाका मोटरसाइकलहरुमा एसओएस बटन क्यामरा अनिवार्य गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए । ट्राफिक प्रहरी र आम चालक–सडक प्रयोगकर्ताबीचको गुनासोलाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीको आचरण सुधारका पनि कार्यालय अघि बढिरहेको उनले बताए ।
त्यस्तै प्रमुख अधिकारीले बिभिन्न स्थानमा पार्किङ गरेर सडक अस्तव्यस्त भएकाले काठमाडौंको नयाँ बसपार्कबाट मात्रै लामो तथा मझौदा दूरीका सवारी छुट्ने व्यवस्था गरिएको जानकारी दिए । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरुको मर्मत गर्दै ट्राफिक व्यवस्थापन र कारबाही प्रक्रियालाई थप सशक्त रूपमा अगाडि बढाउँदै अगाडि लगिएको उनले बताए ।
उनले मुलुकमा हुने सवारी दुर्घटनामा सवैभन्दा बढि कारण चालकको लापरवाही देखिएको उल्लेख गरे । ट्राफिक प्रहरी कार्यालयले आइतबार नै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको छ ।


0 comment