काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी औपचारिक रूपमा नेपाली कांग्रेसमा आबद्ध भएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफू राजनीतिक जीवनमा प्रवेश गरेको जानकारी दिएकी हुन्।

अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छिन्, “आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्दै पार्टी रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने लक्ष्यसहित परिवर्तनको सन्देश दिएको छ।”

उनले प्रजातन्त्र, गणतन्त्र र समाजवादको आधार निर्माणमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै अबदेखि आफू औपचारिक रूपमा कांग्रेसमा आबद्ध भएको उल्लेख गरेकी छन्।

अन्सारीले ‘जेनजी आन्दोलन’पछि बदलिएको कांग्रेस र ‘जरा अभियान’मार्फत सबैलाई जोड्ने सन्देशसहित पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।