काठमाडौं - आज शेयर बजार परिसूचक नेप्से परिसूचक अन्तमा २.९५ अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक घट्दा कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। 

३४२ वटा स्क्रिप्सको  १ करोड ७५ लाख ८८ हजार  ८५४ कित्ता सेयर ७ अर्ब ८१ करोड ३९ लाख  ४७ हजार ३४२ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो। कारोबारमा आएकामध्ये १२१ वटा स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पाल्पा सिमेन्ट इन्डस्ट्रिज,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको हो। होटल फोरेस्ट इनका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीले सेयर १०.७५ प्रतिशतले घट्यो। 

कारोबार रकमका आधारमा नेशनल हाइड्रो पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। रिलायन्स स्पिनिङ्ग्स मिल्सले ३२ करोडको सेयर कारोबार गर्दा सोलु हाइड्रोपावरले ३१ करोड,होटल फोरेस्टले २८ करोड र एसवाइ प्यानल नेपालले २६ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

पाँचवटा समूहको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक नकारात्मक देखिए। उपसूचक बढ्नेमा बैंकिङ,फाइनान्स,इन्भेस्टमेन्ट,मनु एण्ड प्रो र नन लाइफ इन्स्योरेन्स रहे।