काठमाडौं - काठमाडौं महानगरपालिकाले नगरबासीको आवागमन सहज बनाउन आजदेखि दुई प्रमुख रुटमा रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याएको छ। साझा यातायात सँगको सहकार्यमा आजदेखि सुरु हुन लागेको सेवा प्रारम्भिक चरणमा ७ वटा बसमार्फत् सञ्चालन गरिनेछ।

महानगरका अनुसार पहिलो रुट लगनखेलदेखि बुढानीलकण्ठसम्म र दोस्रो रुट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म सञ्चालन हुनेछ। बस सेवा राति ८ बजेदेखि ११ बजेसम्म उपलब्ध हुने र प्रत्येक २० मिनेटको अन्तरालमा बस सञ्चालन गरिने महानगरले जनाएको छ।

यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन प्रत्येक बसमा एक जना नगर प्रहरी खटाइनेछ भने चारवटा सीसीटीभी क्यामरा जडान गरिएका छन्। क्यामेराले चालक, यात्रु तथा सडकको अगाडिको भागसमेत निगरानी गर्नेछन्। ती क्यामेराबाट प्राप्त दृश्य महानगरको केन्द्रीय नियन्त्रण कक्षबाट प्रत्यक्ष अनुगमन गरिनेछ।

यो सेवा ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको आपसी सहकार्यमा सञ्चालन गरिएको हो।

रात्रिकालीन बस सेवाले राति अबेरसम्म काम गर्ने श्रमिक, कर्मचारी तथा अन्य यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने–जाने हवाई यात्रुका लागि पनि यो सेवा उपयोगी हुने महानगरले विश्वास लिएको छ।