काठमाडौं - पत्रकार दिलभूषण पाठकविरुद्धको विद्युतीय कारोबारका सम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतले खारेज गरेको छ।  हिल्टन होटल प्रकरणमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले बुधबार उक्त मुद्दामा प्रहरीको दाबी नपुग्ने भन्दै पत्रकार पाठकलाई सफाइ दिएको हो।

प्रहरीले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले दिएको उजुरीका आधारमा उनको नाम उल्लेख नगरी मुद्दा दायर गरेको थियो।

पाठकको कार्यक्रम ‘टफटक’ मा प्रसारित सामग्रीमा हिल्टनको होटलको लगानीलाई दिएर विचौलिया दीपक भट्ट र कांग्रेस नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवा लगायतको नाम चर्चामा आएको उल्लेख गरिएपछि उनीबिरुद्ध प्रहरीले विद्युतीय कारोबारमा मुद्दा चलाएको थियो ।

मुद्दामा सफाइ पाएपछि पत्रकार पाठकले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नी दिवंगत आमालाई सम्झना गर्दै लेखेका छन्-  आमा मैले न्याय पाएँ।