पोखरामा अवैध रूपमा सञ्चालन भइरहेको ट्रान्स पार्टीमा प्रहरीले छापा मार्दा १२ जना पक्राउ परेका छन्। कास्की प्रहरीले विशेष सूचनाका आधारमा पोखरा–१८ स्थित एक घरमा मध्यरातमा अपरेसन चलाएको हो। उक्त घर बमेन्द्र पुनले भाडामा लिएका थिए भने स्थानीय कृष्ण पराजुलीको पुरानो घरमा पार्टी आयोजना गरिएको खुलेको छ।
प्रहरीका अनुसार त्यहाँ खुला रूपमा लागुऔषधको बिक्री तथा सेवन भइरहेको सूचना प्राप्त भएपछि छापा मारिएको हो। घटनास्थलबाट एमडीएमए, चरेश, कोकिन, खात, आइस (एम्फेटामाइन), पोल्यान, म्याजिक मसरुम, पेपर एलएसडी र झोल एलएसडीसहित ९ प्रकारका लागुऔषध बरामद गरिएको छ।
पक्राउ परेकामध्ये ८ जनाविरुद्ध लागुऔषध मुद्दा र ४ जनामाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ। घटनामा २ जना भारतीय र १ जना ब्राजिलियन नागरिक पनि संलग्न रहेको प्रहरीले जनाएको छ। भारतकी सृष्टि चन्द, अनुभव शर्मा र ब्राजिलका चार्ल्स गुवाईवा पक्राउ परेका विदेशी नागरिक हुन्।
प्रहरीका अनुसार यस्तो प्रकारको अवैध पार्टीमा विदेशी नागरिकको संलग्नता गम्भीर विषय हो। पक्राउ परेका सबैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।


0 comment