काठमाडौं - दार्चुलामा जिप दुर्घटना हुँदा सिँचाइ कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

मंगलबार बिहान ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र अर्का कर्मचारी भरत तितराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिपमा सवार अन्य चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा शैल्यशिखर नगरपालिका–४ निवासी अकबर महर, सोही स्थानका गाडी साहु विक्रम महर, चालक प्रकाश ठगुन्ना र मालिकार्जुन गाउँपालिका–५, डाँडाकोट निवासी मिनबहादुर पाल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।