काठमाडौं - जिल्ला अदालत काठमाडौंले जेनजी आन्दोलन दमनको घटनामा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले अनुसन्धानका लागि ५ दिनको म्याद थप गर्दै उपचारको पनि व्यवस्था मिलाउन आदेश दिएको हो ।

आदेशमा भनिएको छ,'प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने समेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरी दिएको छ ।' म्याद थपको लागि ओलीलाई भर्चुअल मार्फत उपस्थिति जनाएका थिए ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा उनीहरुलाई शनिबार सबेरै पक्राउ गरेको थियो ।