काठमाडौं - शुक्रबार साँझदेखि अवरुद्ध भएको बिपी राजमार्ग संचालनमा आएको छ ।
आज बिहान ६ बजेबाट यातायात खुलेको हो । यो राजमार्ग भएर यात्रा गर्दा मौसमको प्रतिकुलतालाई ध्यान दिँदै सावधानी अपनाउन यात्रुहरुलाई प्रहरीले अनुरोध गरेको छ ।
शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गमा अस्थायी सडकसमेत बगाएपछि रोशी क्षेत्रको सडक पानी पर्नासाथ अवरुद्ध हुने गर्दछ । उक्त खोलामा पानीको बहाव घटेपछि डाइभर्सन गरिएको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउने भनिए पनि निरन्तरको वर्षाका कारण नसकिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिबार रातिदेखि राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाएको थियो । शुक्रबार साँझको वर्षात्पछि रोशी खोलामा आएको बाढीले रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर ‘डाइभर्सन’ बगाएको थियो । गत सालको बाढीपहिरोले बगाएको उक्त सडकखण्डमा बनाइएको १८ किमी डाइभर्सनमध्ये विभिन्न स्थानको चार किमी बगाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । डाइभर्सन बगाएको स्थानमा रोशी खोलामा पानीको बहाव घट्न थालेपछि शनिबार बिहानदेखि पुनर्निर्माण थालिए पनि निरन्तरको वर्षाका कारण डाइभर्सन निर्माणमा कठिनाइ भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्थायी पुनर्निर्माण सुरु गरिएका स्थानमा भने बाढीले कुनै प्रकारको क्षति पुर्याएको छैन ।
गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको छ ।


0 comment