काठमाडौँ:धादिङमा गएराति भएको दुःखद् बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा उच्चस्तरीय बैठक बसेको छ । मन्त्री अर्याल, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारिसहितको बैठकले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
बैठकले घाइतेहरुको उपचारलाई प्राथमिकता दिएर प्रभावकारी बनाउने, घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गरी शिघ्र प्रतिवेदन बुझाएर यथाशिघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउदै नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने पनि बैठकले निर्णय गरेको छ ।
आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।
सडक दुर्घटनाबाट हुने मानवीय क्षतिप्रति दुःख प्रकट गर्नुहुदै गृहमन्त्री अर्यालले उद्धार र उपचारलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुहुँदै सडक सुरक्षामा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन र कडाईकासाथ नियमन गर्न निर्देशन दिनुभयो । दुर्घटनाका दोषिलाई कानूनी दायरामा ल्याउन निर्देशन दिनुभयो ।
निर्वाचन सुरक्षा चुस्त गर्नुपर्ने समयमा यस्ता ठूला मानवीय सडक दुर्घटनाले सुरक्षामा चुनौति थपिनसक्ने खतरा र्औल्याउदै बेलैमा चनाखो भएर जिम्मेवारीपूर्वका लाग्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभएको छ । गृहमन्त्री अर्यालले भन्नुभयो,“सडक र नागरिकको सुरक्षामा हेलचेक्र्याई गरिनु हुदैन । कसैलाई पनि दण्डहीनता क्ष्याम्य हुनेछैन । त्यसैले सडक सुरक्षालाई मजबुद बनाउन सबै निकायहरु जिम्मेवारी भएर लाग्नुपर्छ ।
सडक दुर्घटना सम्बन्धी बनेका विभिन्न छानबिन समिति र अध्ययन प्रतिवेदनको कार्यान्वयन गरिनेछ, राजमार्गको ट्राफिक व्यवस्थापन, सडक नियमन र अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो ।
छलफलबारे मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले घाईतेको उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गरेको बताउनुभयो । निर्वाचनको समयमा सुरक्षा संवेदनशिलतालाई ख्याल गरेर यातायात व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सबै सरोकारवालालाई सक्रिय र जिम्मेवार बनाउने बैठकले निर्णय गरेको छ ।
पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त हुँदा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्युभएको थियो भने २५ जना घाइतेको काठमाडौँ विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


0 comment