काठमाडौँ : सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोले विवाद चर्किएपछि पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालकको खोजी सुरु गरिएको छ। भिडियोमा सवारीचालकले गाडी रोकेर झरेपछि पैदलयात्रीमाथि हातपात गरेको दृश्य देखिन्छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले भिडियो प्रहरीसमक्ष पुगेको र संलग्न व्यक्ति तथा सवारीसाधन पहिचान गर्ने काम अघि बढाइएको जानकारी दिए। उनका अनुसार दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ।

भिडियोमा चालकले गालीगलौज गर्दै कुटपिट गरेको र त्यसपछि एक महिलासमेत आएर आक्रोश व्यक्त गरेको सुनिन्छ। प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन थप अनुसन्धान जारी राखेको जनाएको छ।