काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकामा महिलामा देखिने पाठेघरको मुखको क्यान्सरविरुद्ध लक्षित एचपीभी (HPV) खोप कार्यक्रम सञ्चालन हुने भएको छ। नगरपालिकाले आगामी माघ २७ गतेदेखि १४ वर्षसम्मका बालिकालाई उक्त खोप लगाउन लागेको जानकारी गराएको छ ।

नेपाल सरकारले गत वर्षदेखि सुरु गरेको एचपीभी खोप कार्यक्रमलाई निरन्तरता दिँदै नगरपालिकाले विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १४ वर्षसम्मका बालिका, साथै गत वर्ष खोपबाट वञ्चित भएका बालिकालाई लक्षित गरी खोप उपलब्ध गराउन लागेको हो।

नगरस्तरीय खोप समन्वय समितिको आज बसेको बैठकमा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता खोप कार्यक्रमलाई नगरपालिकाले अघि बढाउने बताए। उनले नागरिकको स्वास्थ्य सुरक्षा नगरपालिकाको मुख्य दायित्व भएको उल्लेख गरे।

यस्तै उपमेयर शान्ता थापाले स्वास्थ्य नै मानिसको सबैभन्दा अमूल्य सम्पत्ति भएको बताउँदै स्वस्थ जीवनशैली अपनाउन र नगरपालिकाले सञ्चालन गर्ने स्वास्थ्य अभियानमा ढुक्क भएर सहभागिता जनाउन नगरबासी बालिकाहरुलाई आग्रह गरिन्।

यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले एचपीभी खोपसम्बन्धी विभिन्न भ्रम फैलिएको पाइएकाले त्यस्ता भ्रमको पछि नलागी सरकारले सुरु गरेको अभियानमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन सबै नगरबासीलाई अनुरोध गरे।

के हो एचपीभी खोप ?

एचपीभी खोप पाठेघरको मुखको क्यान्सर विरुद्धको प्रभावकारी खोप हो। चिकित्सकहरूका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारणमध्ये करिब ९० प्रतिशतमा ह्युमन प्यापिलोमा भाइरस (HPV) जिम्मेवार हुने गर्दछ। यो भाइरस यौन सम्पर्कबाट सर्ने भएकाले यौन क्रियाकलापमा संलग्न हुनुअघि नै खोप लगाउँदा सबैभन्दा राम्रो प्रभाव देखिने भएकाले ९ देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको हो।

विश्वभर महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ। यसैका कारण प्रत्येक वर्ष करिब तीन लाख महिलाको ज्यान जाने गरेको तथ्याङ्क छ। समयमै एचपीभी खोप लगाउन सके यस क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने चिकित्सकहरूको भनाइ छ।