काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाको नगर अस्पतालमा आधुनिक शवगृह सेवा सञ्चालनमा ल्याइएको छ। आकस्मिक तथा उपचारका क्रममा मृत्यु भएका र अन्य कारणले अस्पतालमा ल्याइने शवको संरक्षणका लागि सेवा सुरु गरिएको हो।
अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलका अनुसार सेवाग्राहीलाई सहज, सुरक्षित र व्यवस्थित सेवा दिने उद्देश्यले शवगृह सञ्चालनमा ल्याइएको हो। शवगृह अत्यन्त संवेदनशील क्षेत्र भएकाले प्रवेश, पहिचान र सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गरिने अस्पतालले जनाएको छ। शवगृह सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधि समेत बनाइएको छ।
शवको सरसफाइ, सुरक्षित भण्डारण, तापक्रम व्यवस्थापन तथा कानुनी प्रक्रिया पूरा गरी मात्र शव हस्तान्तरण गरिने अस्पतालले जनाएको छ। शव राख्दा आवश्यक कागजात अनिवार्य गरिएको छ। विपन्न, असहाय, लक्षित वर्ग तथा बेवारिसे शवको व्यवस्थापन सामाजिक सेवा इकाइमार्फत गरिनेछ। महामारीजन्य रोगका कारण मृत्यु भएको अवस्थामा भने नेपाल सरकारको प्रचलित कानुनअनुसार शव व्यवस्थापन गरिने व्यवस्था गरिएको छ।
नगरप्रमुख उपेन्द्र कार्कीले शवगृह सेवालाई पारदर्शी र व्यवस्थित बनाउँदै दुःखको घडीमा परिवारले अनावश्यक हैरानी व्यहोर्न नपरोस् भन्ने उद्देश्य रहेको बताए। नागरिकको जीवनसँगै मृत्यु पछिको व्यवस्थापन पनि स्थानीय सरकारको जिम्मेवारी भएको उनको भनाइ छ।
नगर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन्। अस्पतालले २४ घण्टा आकस्मिक सेवा तथा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी सेवा प्रदान गर्दै आएको छ। हाल ३० देखि ३५ शैय्या सञ्चालनमा रहेको अस्पताल सय शैय्यामा स्तरोन्नतिको प्रक्रियामा रहेको छ।



0 comment