काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नं. ५ मा उम्मेदवारी दिएका बालेन्द्र साहलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार झापा ५ मा चुनाव प्रचारका क्रममा बालेन्द्र पत्नी सविना काफ्लेले सादा पोशाकका प्रहरी प्रयोग गरेको उजुरी परेपछि स्पष्टीकरण सोधिएको बताए ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम उम्मेदवार साहलाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोध्ने क्रममा बालेन्द्र पनि परेका हुन् ।
बालेन चुनाव प्रचारप्रसार अभियानका क्रममा पश्चिम गएको बेलामा उनकी श्रीमती सविना झापामा खटिएकी थिइन् । उनी भोट माग्न जाँदा सादा पोसाकका प्रहरी पनि खटाएको समाचार बाहिर आएको थियो ।
यसअघि माघ १३ मा आयोगले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको उजुरी परेपछि बालेनलाई स्पष्टीकरण सोधेको थियो । आचारसंहिता उल्लङधन गरेको भन्दै आजसम्म आयोगले २९ जनालाई स्पष्टीकरण सोधिसकेको छ ।
यसैबीच रास्वपाका वरिष्ठ नेता साह आज निर्वाचन क्षेत्र झापा पुगेका छन् । उनी मनोनयन दर्ता गरेपछि दोस्रो पटक झापा पुगेका हुन् ।



0 comment