काठमाडौं - भारत सरकारले नेपाललाई दिइने विकास सहायता रकम वृद्धि गरेको छ । आज सार्वजनिक गरिएको केन्द्रीय बजेटमा ‘छिमेक पहिलो’ नीति अन्तर्गत नेपाललाई उपलब्ध गराइने अनुदान रकम अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँ बढाएको छ ।
केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसदमा प्रस्तुत गरिएको बजेटमा सो कुरा उल्लेख छ । जसअनुसार ८०० करोड भारतीय रुपैयाँ पुगेको छ । सहयोग वृद्धिले पूर्वाधार, सीमा क्षेत्रमा विकास परियोजना र सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ । भारतको यो निर्णयलाई नेपाल–भारत विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।
भारतले नेपालसहित भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम वृद्धि गर्दा बंगलादेश, माल्दिभ्स र म्यानमारको सहायता रकम घटाएको छ । बंगलादेशको अनुदान आधाले घटाएर ६० करोडमा सीमित गरिएको छ ।
नेपालसँगै श्रीलंकालाई पनि भारतले १०० करोड रुपैयाँ थप गर्दै कुल ४०० करोड भारतीय रुपैयाँ छुट्याइएको छ । यस्तै अफगानिस्तानका लागि ५० करोड रुपैयाँ थप गर्दै कुल १५० करोड रुपैयाँ विनियोजन गरेको छ । यसैगरी, मौरिससलाई पनि ५० करोड सहयोऊ थप गर्दै ५५० करोड रुपैयाँ पुर्याएको छ । भारतको विदेश मन्त्रालयको समग्र बजेट अघिल्लो वर्षको तुलनामा केही वृद्धि गर्दै यस वर्ष २२ हजार ११८.९७ करोड रुपैयाँ पुगेको छ ।



0 comment