काठमाडौं - ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको  हत्या भएको छ ।

भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या भएको हो ।  घटनास्थलमा प्रहरी पुगिसकेको प्रहरीले बताएको छ ।

एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो ।

यसअघि मगर दम्पत्तीको हत्यामा संलग्न आरोपमा ४ जना पक्राउ परेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।