काठमाडौं - जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका ११५ थान अवैध भरुबा बन्दुक बरामद गरेको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अवैध भरुबा बन्दुक खोज अभियानअन्तर्गत एक सय १५ थान बन्दुक फेला पारिएको हो । 

ती बन्दुको प्रयोग गरेर ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग हुँदै आएको थियो । गत मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै प्रहरीले खोजतलास अघि बढाइएको थियो ।  

एक महिनाको अवधिमा बेनी नगरपालिकाबाट ११ थान, अन्नपुर्ण गाउँपालिकाबाट १६, रघुगङ्गा गाउँपालिकाबाट ४८ थान, मङ्गला गाउँपालिकाबाट १४ थान, मालिका गाउँपालिकाबाट २० थान, धवलागिरी गाउँपालिकाबाट ६ थान गरी ११५ थान भरुवा बन्दुक बरामद गरिएको हो ।

बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स थिएन । स्थानीयले ती बन्दुकहरु पुराना घरमा र कसैले जङ्गलमा लुकाइराखेको अवस्था फेला परेको थियो । जिल्लाका विभिन्न स्थानमा अझै पनि धेरै भरुवा बन्दुक रहेको आशङ्कामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।