काठमाडौं— चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लाको पहिलो बालश्रम मुक्त पालिका घोषणा भएको छ । चन्द्रागिरि नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बनियाँको प्रमुख अतिथ्यतामा एक भव्य समारोह गरी नगरलाई बालश्रम मुक्त घोषणा गरिएको हो । घोषणा समारोहमा शुभकामना मन्तव्य दिदै प्रदेश मुख्यमन्त्री बानियाँले बालश्रम मुक्त घोषणासँगसगै आगामी दिनमा यस पालिकाभित्र कुनैपनि बालबालिकालाई श्रमको रुपमा प्रयोग हुन नदिनका लागि सबैजना चनाखो हुनुपर्ने कुरामा जोड दिनु भयो । बालअधिकार संरक्षण प्रवद्र्धनका लागि तिनै तहका सरकारको जिम्मेवार भूमिका हुनुपर्ने र विशेषगरी बागमती सरकारले आफ्नो प्रदेशभित्रका पालिकाहरुलाई बालमैत्रीपूर्ण पालिका बनाउन पहल गरिरहेको कुरा पनि बताउनु भयो ।

 प्रदेशले बालबालिका सम्बन्धी नीति तथा ऐनमा निमार्णमा पनि तिब्र रुपमा कामगरिरहेको जानकारी दिनुभयो । उहाँले पालिकाहरुलाई बालश्रममुक्त मात्र होइन भष्ट्रचार मुक्त पालिका पनि घोषणा गर्दै जानुपर्ने आवश्यकता औल्याउनु भयो । बालबालिकालाई बालश्रम होइन संस्कार सिकाउनु पर्छ भन्दै बालश्रम कानुनी रुपमा नै बन्देज भएको सवाल भएकोले बालश्रम प्रयोग अपराध हो भन्नु भयो । यसैगरी कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले कार्यप्रतिवेदन वाचन गर्नु भयो भने विभिन्न व्यक्तित्वहरुले बालश्रम मुक्त पालिका घोषणाको शुभकामना मन्तव्य राख्नु भयो । मन्तव्यको क्रममा बालश्रम प्रयोग नगर्नु नगराउनु सबैको दायित्व भएको र पालिकाले यस कार्यलाई आगामी दिनमा पनि नियमित अनुगमन गरी बालबालिकाको अधिकार संरक्षणका लागि निरन्तर काम गरिरहनुपर्ने कुरामा जोड दिनु भयो । 

चन्द्रागिरि नगरपालिकामा जम्मा १५ वटा वडा रहेका र सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसकेका छन । वडा नं. १२ पनि नगरपालिकासँगै घोषणा भएको छ । नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले साथ र सहयोग गरिरहेको पालिका स्रोतले बताएको छ । घोषणा कार्यक्रममा बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो भने कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सबै वडाका वडा अध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, बालबालिका, शिक्षक, नगरवासीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा झाँकीसहितको र्यालीले नगरपरिक्रमा गरेको थियो भने अहिलेसम्म चन्द्रागिरि सहित देशभरीका १३ वटा पालिकाहरु बालश्रममुक्त पालिका घोषणा भइसकेका छन ।