काठमाडौं — चन्द्रागिरि नगरपालिका वडा नं. १४ बालमैत्री वडा घोषणा भएको छ । काठमाडौं जिल्लाको तेस्रो बालमैत्री वडा र नगरपालिकाको पहिलो बालमैत्री वडाका रुपमा वडा नं. १४ लाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार सोही वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री कन्चन चन्द्र बादेको प्रमुख अतिथ्यतामा वडालाई बालमैत्री घोषणा गरियो । घोषणा गर्ने क्रममा वडा नं. १४ का विभिन्न स्थानहरुबाट झाँकीसहितको र्याली निकालिएको थियो । घोषणा कार्यक्रममा शुभकामना मन्तव्य दिदै बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले बालबालिकामा लगानी गर्न कुनै पनि हिचकिचाहट गर्न नहुने बताउनु भयो । प्रदेश सरकारले बालअधिकार संरक्षण र प्रवद्र्धनका लागि नीतिगत तहमा गर्नुपर्ने कामहरु गरिरहेको र प्रदेशका सबै पालिकाहरुमा बालअधिकार संरक्षण अभियान चलाउने कुरा उल्लेख गर्दै बाटो पुल बनाउनुलाई मात्रै विकास नमानी अधिकार सुनिश्चित गर्ने सवालमा पनि तिनै तहका सरकार गम्भीर बन्नु पर्ने औल्याउनु भयो । बालबालिकाको भविश्य सुनिश्चत गर्नका लागि शिक्षामा लगानी बढाउनु पर्ने मन्त्री बादेको भनाई थियो । 


कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुने बागमती प्रदेशका उद्योग बाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि, नगर उपप्रमुख बसन्ती श्रेष्ठ बाल विकास समाजका अध्यक्ष डा. रिता सिंह हमाल वल्र्ड भिजन इन्टरनेसनल नेपालका एक्ट्रनल इनगेजमेन्ट एण्ड स्टाट्रेजी डाइरेक्टर उमा थापा मगर लगायतका थुप्रै व्यक्तीत्वहरु रहनु भएको थियो । शुभ कामना मन्तव्य दिनुहुने सबैले बालबालिकामा लगानी गर्नुपर्नेमा जोड दिएका थिए भने स्थानीय तहले चाहेमा बालमैत्री पालिका बालमैत्री वडा निर्माण गर्न समय नलाग्ने कुरा बताएका थिए । बालअधिकार संरक्षण तथा प्रवद्र्धनमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने हुनाले सोही अनुसार गरेमा बालबालिकाको भविश्ष्य उज्जल बनाउन सकिने कुरामा सबैको जोड थियो । 


कार्यक्रममा बागमती प्रदेशका सांसद, चन्द्रागिरि नगरपालिकाका कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रहरी, नगर प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, बालबालिका, समाजसेवी, नगरपालिकाका कर्मचारी, पत्रकार विभिन्न समाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमका लागि बाल विकास समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो भने कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरुले नृत्य प्रस्तुत समेत गरेका थिए । वडालाई बालमैत्री बनाउने अभियानमा सहयोग गर्ने विभिन्न निकाय तथा कर्मचारीहरु पनि प्रसंसा पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो । मुलुकभर २९ वटा पालिका र १ सय १३ वटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन ।