काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी २.० ले राखेका सबै माग पूरा गर्न नसकिने स्पष्ट रुपमा भनेका छन् ।  सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्ने क्रममा मन्त्री पुनले आगामी निर्वाचनमार्फत सरकार बनाएर आफ्नै माग पूरा गर्न सुझाव दिए।

मन्त्री पुनका अनुसार विद्यार्थीले राखेका मागहरू तत्काल मन्त्रालयले समाधान गर्न सकिने र नसकिने गरी छुट्टिनै पर्ने स्थिति छ। उनले कतिपय माग कार्यान्वयनयोग्य नहुने बताए। उनले भने , ‘सबै माग पूरा गर्नुपर्ने हो भने तिमीहरू नै चुनाव लड, सरकार बनाऊ, अनि आफ्नै माग आफैँ पूरा गर। क्यामेरा अगाडि बसेर होइन, गाउँ–गाउँ जाऊ।’

उनले जेनजीका विद्यार्थीलाई काठमाडौंमा बसिरहने होइन, गाउँ फर्केर राजनीतिक नेतृत्व तयार गर्नुपर्ने सुझाव पनि दिए। पुनका अनुसार केही मागहरू विचार गर्न सकिने भए पनि सबै माग पूरा गर्न सम्भव छैन।

यसअघि जेन–जी २.० ले १६ वर्षमै एसईई पास गरी सीटीईभीटीको प्राविधिक शिक्षा लिएर देश–विदेशमा रोजगारी पाउन चाहने विद्यार्थीहरूका समस्या एक साताभित्र समाधान गर्न मागसहित ज्ञापनपत्र बुझाएका थिए।