काठमाडौं— ललितपुर महानगरपालिका वडा नंं २२ को वडास्तरीय बालअधिकार समितले सिजन सुरु हुनै लाग्दा आफ्नो वडा क्षेत्रभित्र सञ्चालित इँट्टा उद्योगहरुमा बालश्रमको अनुगमन गरेको छ । विशेषगरी गाउँबाट अभिभावकसँगै बालबालिका पनि उद्योगमा आउने हुनाले त्यहाँ बालश्रम प्रयोग हुने गरेको देखिन्छ । अब इँट्टा उद्योगहरुमा कामदारहरु धमाधम आउन थालेका छन । वडाले यही वर्ष बालश्रम मुक्त वडा घोषणाको तयारी गरिरहेको हुनाले पनि सिजन सुरु हुनु पहिला नै इँट्टा उद्योगमा बालश्रमको अनुगमन गरेको हो । अब धमाधम नाइकेहरुले गाउँगाउँमा गएर उद्योगमा काम गर्ने कामदार ल्याउन सुरु गर्ने हुनाले अनुगमन गरेपछि नाइकेहरुले बालश्रम हुन नदिनका लागि भूमिका खेल्ने विश्वास गरिएको अनुगमनका खटिएका वडास्तरीय बालअधिकार समिति सदस्यको भनाई छ । वडा क्षेत्रमा सञ्चालित हिरा इँट्टा उद्योग, ओमश्री इँट्टा उद्योग यूके इँट्टा उद्योग लगायतका उद्योगहरुमा अनुगमन भएको थियो ।
अनुगमनका क्रममा उद्योगी नाइकेहरुसँग बालश्रम प्रयोग गर्न नहुने सम्बन्धमा छलफलसमेत भएको थियो । अनुगमनका क्रममा २२ नंं. वडाका वडा अध्यक्ष सागर तुलाधरले उद्योगी तथा नाइकेहरुलाई अभिभावकसँग उद्योगमा आएका बालबालिकाहरुलाई श्रममा नलगाई विद्यालय पठाउन सहजीकरण गर्न आग्रह गर्नुभएको थियो । वडालाई बालश्रममुक्त वडा बनाउने अभियानमा साथ दिनका लागि उद्योगीहरुलाई अध्यक्ष तुलाधरले आग्रह गर्नु भएको थियो । बालअधिकार संरक्षण गर्नु दायित्व सबैको भएको उल्लेख गर्दै बालश्रम प्रयोग नगरी उद्योग सञ्चालन गर्नुपर्नेमा तुलाधरको जोड थियो ।
बालश्रम निषेध एवं नियमन गर्ने ऐन २०५६ ले १४ वर्ष मुनीका कुनैपनि बालालिकालाई श्रममा लगाउन बन्देज गरेको छ । साथै जोखिमयुक्त क्षेत्रबाहेकका स्थानमा १५ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई काममा लगाउन सर्तहरु तोकिएको छ । तर नेपाल सरकारले जोखिमयुक्त श्रमक्षेत्र भनेर इँट्टा उद्योग, होटेल, लगायतका क्षेत्रमा भने १८ वर्षमुनीका कुनैपनि बालबालिकालाई श्रममा लगाउन नपाइने कानुनी व्यवस्था रहेको छ । यदी कानुनको उल्लघंन गरी बालबालिकालाई श्रममा लगाएको पाइएमा रु १ लाख सम्म जरिवाना र १ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था कानुनले गरेको छ ।
बालश्रम अनुगमनमा वडाका जनप्रतिनिधि, समितिका सदस्य प्रहरी बाल विकास समाजका प्रतिनिधि तथा अन्य सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो ।


0 comment