काठमाडौं - सेयर बजारमा नयाँ-नयाँ कम्पनी आउने क्रम जारी छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । अमुदीले कुल २० लाख कित्ता आईपीओ बिक्री गर्ने भएको हो ।

उत्पादन क्षेत्रका उद्योगलाई आईपीओ बिक्रीका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरको २० लाख कित्ता सर्वसाधारणमा निष्कासन गर्नका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यसका लागि कम्पनी र क्यापिटलबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । ग्लोबल आईएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा सोमबार आयोजित एक कार्यक्रममा अमुदी फुड्सका तर्फबाट अध्यक्ष अच्युत बस्नेत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका ३२, कोटेश्वरमा छ । चितवनको भरतपुर महानगर १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग छ ।

कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातिप्राप्त व्यक्तित्वको लगानी छ । अमुदी फुड्स लिमिटेडले विभिन्न ब्रान्डका स्न्याक्स उत्पादन गर्दै आएको छ ।