काठमाडौं - सोसेक नेपालले अछामका १४५ र दैलेखका १०५ जना गरी २५० जना किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री वितरण गरेको छ । 

डीसीए नेपालको सहयोगमा सोसेक नेपालमार्फत ग्रीन कर्णाली परियोजना अन्तर्गत दैलेखको दुल्लु नगरपालिका र आठबीस नगरपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाका किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।  परियोजनाले सामग्री सहयोग गरेको हो । 

दुल्लु नगरपालिका–२ को तरिया कृषक समूहका १५, भगवती बडापोखरा कृषक समूहका २०, राजमार्ग कृषक समूहका २० जनालाई सामग्री उपलब्ध वितरण गरिएको परियोजनाको उद्यम विकास अधिकृत पुस्करप्रसाद शर्माले बताए । 

यस्तै, आठबीस नगरपालिका वडा नम्बर २, ३ र ९ का लाँलीगुराँस कृषक समूहका १०, कालिका आमा समूहका १०, जनचेतना कृषक समुहका १५ र कालिका कृषक समूहका १५ जनालाई सामग्री दिएएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए । अछामको पञ्चदेवल विनायक नगरपालिका–३ र ९ का चिलतडा कृषक समुहका ३०, कर्णाली नमूना कृषक समुहका २५, नानाखाल कृषक समुहका ३० र सगरमाथा कृषक समुहका २० जनालाई सामग्री दिइएको छ ।

यस्तै अछामकै तुर्माखाँद गाउँपालिका–३ का सिद्धपाइला र त्रिवेणी कृषक समुहका २०/२० जना किसानलाई सामग्री वितरण गरिएको उद्यम विकास अधिकृत शर्माले जानकारी दिए । 

‘जलवायु परिवर्तनको असर न्युनिकरण तथा किसानको आम्दानीमा वृद्धि हुने अपेक्षासहित किसानलाई जलवायु तथा महिलामैत्री कृषि सामग्री दिइएको हो,' उनले भने । 

किसानलाई वितरण गरिएको जलवायु तथा महिलामैत्री कृषि सामग्रीहरुमा गार्डेन पाइप, पञ्जा, पलास्टिक ड्रम, दाँते, ग्लोब्स, स्थायी र अस्थायी पोलीहाउस, पलास्टिक पोखरी तथा काँक्रा, टमाटर लगायतका बीउ छन् ।

किसानलाई झण्डै २८ लाख बराबरको सामग्री वितरण गरिएको हो । सोसेक नेपालका लेखा तथा प्रशासन अधिकृत टिकाराम सापकोटाले किसानलाई २७ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको बताए । महिला र विदेशीने युवाहरुलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने गरी ग्रिन कर्णाली परियोजनाले काम गरिरहेको परियोजना संयोजक रन्जिता बिसीले बताइन् । 

‘जलवायु तथा महिलामैत्री पर्यावरणीय कृषि र लद्यु उद्यमहरुको प्रर्बद्धन तथा साना किसान विशेषगरी महिला र युवाहरुको उत्थानशिल जीविकोपार्जनमा योगदान पुर्‍याउने परियोजनाको लक्ष्य हो,'संयोजक बिसीले भनिन् ।