काठमाडौं - चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ-ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौँ-ग्वाङ्झाउ दैनिक राति ११:३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२:५० बजे उडान हुने छ ।

‘अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौँ-ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ-काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् । कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ-ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ-काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो ।

उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।