काठमाडौं - म्याग्दीको बेनी नगरपालिका ६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ ।
शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष ०७८/७९ देखि सुरु भएको कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, व्यवस्थापनमा सुधार र भौतिक पूर्वाधार विस्तार भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा शैक्षिकसत्र २०७८ को औसत सिकाइ उपलब्धि २.८४ जीपीए रहेकामा २०८० मा ३.०१ जीपीए पुगेको प्रधानाध्यापक सोमनाथ ढुंगानाले बताए।
‘पाँचवर्षे गुरुयोजनाअनुसार कमजोर विद्यार्थीलाई लक्षित गरेर अतिरिक्त कक्षा, १-३ मा कक्षा शिक्षण, पठनपाठनमा प्रविधिको प्रयोग, विद्यार्थीलाई मौलिक सीप हस्तान्तरण र उत्प्रेरणामूलक क्रियाकलाप गरिएको छ,’ उनले भने, ‘शिक्षकहरुको क्षमता विकाससँगै विद्यार्थीको क्षमता पहिचान गरेर पठन क्रियाकलाप सञ्चालन गरेपछि सिकाइ उपलब्धि वृद्धि हुन थालेको छ ।’
कक्षा १ देखि ३ सम्म एउटा कक्षामा एकजना शिक्षकले सबै विषय पठनपाठन गराउने अभ्यास थालिएको छ । यसबाट विद्यार्थीको आनिबानी र क्षमता पहिचान गरेर सिकाइ क्रियाकलाप सञ्चालन गर्न सहज भएको शिक्षक नवराज शर्माले बताए ।
कक्षा ८ सम्मका सबै विद्यार्थीलाई अनिवार्य, ९ र १० मा कम्प्युटर विषयको ऐच्छिक कक्षा सञ्चालन गरेको जामुनाखर्कले विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना गरेको छ । गणित, सामाजिक प्रयोगशाला (स्टिम ब्याग) पनि छ । कक्षा ११ र १२ मा पूर्ण रुपमा नि:शुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।
सबै कक्षाकोठामा ‘स्मार्टबोर्ड’ राखिएको छ । सबै शिक्षकसँग ल्यापटप छ । शिक्षकले ल्यापटपमा इन्टरनेटको सहयोगमा सिकाइ सामग्री खोज्ने र पढाउने गर्छन् । प्रार्थनाको समयमा शिक्षक र विद्यार्थीहरुले विविध विषयमा प्रश्नउत्तर गर्छन् ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ९ र १० का विद्यार्थी टिकाउ र २०८० को एसईई परीक्षाको उत्तीर्णदरका आधारमा गरेको मूल्यांकनमा जामुनाखर्क म्याग्दी जिल्लामा पहिलो भएको थियो ।
विषयगत विभाग गठन गरेर शिक्षकहरुको कार्यविभाजन, शैक्षिक प्रर्दशनी र महोत्सव आयोजना गरेको छ । विद्यार्थीहरुलाई सिर्जनशील र अध्ययनशील बनाउन अतिरिक्त क्रियाकलाप, व्यावसायिक, व्यवहारिक सीप सिकाउन गुन्द्री बुन्ने, पाक शिक्षा, वायरिङ र पलम्बिङ तालिम सञ्चालन गरेको छ ।
कक्षा १० का विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको विद्यालयले अभिभावकसँग नियमित अन्तर्क्रिया र योग प्रशिक्षण चलाएको छ । शिक्षकहरुलाई सूचना प्रविधि, मूल्याङकन र कक्षा व्यवस्थापन तालिम दिएको छ ।
शिक्षा मन्त्रालयले बेनी नगरपालिकामार्फत उपलब्ध गराउने बजेटबाट भौतिक, शैक्षिक र व्यवस्थापनकीय सुधारका गुरुयोजनामा प्रस्तावित कार्यक्रम गरिएको प्रधानाध्यापक ढुंगानाले बताए । यसअघिका तीनवटा आर्थिक वर्षमा तीन करोड ९० लाख रुपैयाँ बजेट पाएको विद्यालयमा यस वर्ष प्राप्त भएको एक करोड रुपैयाँबाट प्रशासनिक, प्रयोगशाला भवन र घेराबार निर्माणका लागि ठेक्का आह्वान भएको छ । गत वर्षको बजेटबाट ठेक्कामार्फत चारकोठे भवन निर्माणको अन्तिम चरणमा छ ।
हालसम्म ब्लक (ए) मा चारकोठे कक्षाकोठा, ब्लक (बी) मा १० कोठे छात्रावास भवन र शौचालय निर्माण भएको छ । ब्लक (ए) मा रहेको खेलमैदानमा पेभर ब्लक बिछ्याई बालमैत्री खेलकुदका सामग्री राखिएको छ । नयाँ भवन निर्माणका लागि ब्लक (बी) मा विद्यालयले नौ रोपनी १४ आना जग्गा खरिद गरेको छ ।
हाल २१५ विद्यार्थी रहेको जामुनाखर्कमा नमुना विद्यालय कार्यक्रमबाट विद्यार्थीहरुलाई छात्रवृत्तिको पनि व्यवस्था मिलाइएको छ । गत वर्ष स्थापना भएको हीराबहादुर बानिया स्मृति छात्रवृत्ति कोषले विद्यार्थीलाई पोसाक, शैक्षिक सामग्री र दिवा खाजामा सघाएको छ । हाल आठ लाख १२ हजार रुपैयाँको अक्षयकोषको रकम वृद्धि गरेर पाँच वर्षमा २५ लाख रुपैयाँ पुर्याउने संरक्षकले घोषणा गरेका छन् ।
जामुनाखर्कको सेवा क्षेत्रबाट १२ विद्यार्थी अन्यत्रको विद्यालयमा अध्ययनका लागि जाँदा सेवा क्षेत्रभन्दा बाहिरबाट आउने विद्यार्थीको संख्या १८ जना छ । कक्षा ६ भन्दा माथिल्लो कक्षामा निजी विद्यालय छाडेर पढ्न आए पनि तल्लो कक्षामा भर्ना हुने विद्यार्थी संख्या कम छ ।
जन्मदर कम हुनु र बसाइँसराइका कारण विद्यार्थी सङ्ख्या बढाउने, अहिले भएको शैक्षिक उपलब्धिलाई टिकाउने र वृद्धि गर्ने चुनौती रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताए ।
३ किलोमिटरनजिक रहेको बेनीका विद्यालयमा देखिएको विद्यार्थीको चाप घटाउन जामुनाखर्क विकल्प बन्न सक्ने सम्भावना छ । यसका लागि विद्यालय बस र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष सुवेदीले बताए ।


0 comment