काठमाडौं - कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो ३०औं संस्करण हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक विशेष समारोहमाझ एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर क्यान इन्फोटेकको औपचारिक उद्घाटन गरे । साथै, प्रधानमन्त्री केपी ओलीले भिडियो सन्देशमार्फत क्यान इन्फोटेक २०२५ को भव्य सफलताको शुभकामना व्यक्त गरे ।

उनले निजी क्षेत्रको सहयोगमा सूचना प्रविधि उद्योगमैत्री कार्यक्रम सञ्चालन, नवप्रवर्तन तथा स्टार्टअप संस्कृतिको विकास, स्वदेशी सीप र कलाको प्रोत्साहन, प्राविधिक जनशक्ति उत्पादन र परिचालनमार्फत देशको अर्थतन्त्र सुदृढ बनाउन सरकारका तर्फबाट अधिकतम पहल भइरहेको जानकारी पनि दिए ।

मन्त्री गुरुङले क्यान इन्फोटेकले सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावना र अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि आह्वान गरे । उनले भने, ‘तपाईंहरू मिहिनेत र हिम्मतका साथ काम गर्नुहोस्, नेपाललाई आईटी हबको रूपमा चिनाऔँ ।’ उनले निजी क्षेत्रको प्रयासको सराहना गर्दै सरकारको तर्फबाट ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । साथै आईटी क्षेत्रलाई उद्योगको मान्यता दिन सरकार सकारात्मक रहेको उनले बताए ।

उनले आईटी पार्क, ज्ञान पार्क र एआई रिसर्च सेन्टरको अभाव रहेको बताउँदै आगामी वर्ष कम्तीमा एउटा आईटी पार्क खोल्ने योजना रहेको बताए । ‘हामी कम्तीमा एउटा आईटी पार्क वा नलेज पार्क बनाउने योजनामा छौँ । काठमाडौंमा सुरु गरेर सात ओटै प्रदेशमा विस्तार गर्ने लक्ष्य छ,’ उनले भने । मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले अध्यादेशमार्फत सकारात्मक कदम चालेको जानकारी दिए । साथै, साना आईटी उद्यमीहरूलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए ।

उ्दघाटन समारोहमा नास्टका उपकुलपति प्राडा दिलीप सुब्बा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायत वक्ताहरूले क्यान इन्फोटेक २०२५ को भव्य सफलताको शुभकामना व्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याए ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल, सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, त्रिवि इन्जिनियरिङ संस्थाका प्राडा सुवर्ण शाक्य, क्यान महासंघका संस्थापक अध्यक्ष डा. विमलकुमार शर्मा, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, क्यान इन्फोटेकका शीर्ष प्रायोजक एचएमसी नेपाल हिक्सेमीका सन्तोषकुमार श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वसहित सूचना प्रविधि क्षेत्र सम्बद्ध विभिन्न संस्थाका प्रतिनिधि, क्यान महासंघका सदस्य, पत्रकारलगायतको उपस्थिति थियो ।

सो अवसरमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सूचना प्रविधिसम्बन्धी नयाँ नीति, कानुन तथा निर्देशिकाहरूमा क्यान महासंघले समन्वयकारी भूमिका खेलिरहेको बताउँदै यो क्षेत्रमा देखिएका समस्याको हल नीतिगत तवरबाटै हुनुपर्नेमा जोड दिए । निजी क्षेत्र र सरकार मिलेर प्रविधिको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । १० वर्षमा पाँच लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी तथा ३० खर्बको आईटी सेवा निर्यातका लागि कार्ययोजना बनाउन मन्त्रालयसँग काम गर्न खोजेको समेत उनले बताइन् ।

क्यान महासंघले यस वर्ष नीति निर्माणसम्बन्धी अवधारणा अगाडि सारेको भन्दै उनले प्रविधि क्षेत्रको विकासमा सरकारसँग नजिक रहेर काम गर्ने योजना रहेको बताए । ‘डेटा प्रोटेक्सन एक्ट, क्रिटिकल सर्भिसमा पर्ने डटएनपीसम्बन्धी नीति निर्माण गर्ने, राइड सेयरिङसम्बन्धी नीति बनाउने, एआईका लागि अत्यन्त आवश्यक पर्ने डेटा मनिटरिङ र डेटा क्लिनजिङसम्बन्धी काम, वैदेशिक लगानी ऐन २०२१ को संशोधन, ब्रोडब्यान्ड इन्टरनेटका लागि कर प्रणाली परिमार्जन गर्नुपर्ने, दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धी निर्देशिका बनाउनुपर्ने, सूचना प्रविधि क्षेत्रका लागि चाहिने वर्कफोर्स तयार पार्ने सम्बन्धमा क्यान महासंघले अवधारणालाई अगाडि सारेको छ,’ उनले भने ।

३०औँ क्यान इन्फोटेकको प्रमुख प्रायोजन एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम’ रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् । साथै, प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिशन लाइट हाउस रहेका छन् ।

यस प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता छ । क्यान इन्फोटेक व्यवसायीहरूले व्यापार विस्तार, नयाँ प्रविधिको प्रदर्शनी र ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रियाका लागि उत्कृष्ट अवसरको रूपमा प्रयोग हुने विश्वास गरिएको छ । प्रदर्शनीमा ब्रान्डिङ, आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, ई-गभर्नेन्स, इन्टरनेट कनेक्टिभिटी, लर्निङ सेन्टरलगायत सेवा तथा उत्पादन राखिएको छ ।

यसपटक मुख्य आकर्षणमा एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारसम्म रहेको छ । त्यस्तै क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएकाले अवलोकनकर्ताको आकर्षण देखिएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्सलगायत प्रोजेक्ट राखिएका छन् ।

साथै, क्यान इन्फोटेकमा नास्टको स्मार्ट बसमा बसेर एआई कोडिङ गर्न सकिने भएको छ । क्यान महासंघ र नास्टले इच्छुक विद्यार्थीलाई यो अवसर सदुपयोग गर्न आह्वान गरेका छन् । त्यस्तै, क्यान इन्फोटेक २०२५ मा पहिलोपटक नेपालमै निर्मित मुनाल स्याटलाइट समेत अवलोकन गर्न सकिनेछ ।

क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले क्यान इन्फोटेकमार्फत नेपाली नवप्रवर्तन, अनुसन्धान र आविष्कारका क्षेत्रका सक्रिय उत्पादन तथा प्रतिभालाई प्रोत्साहन गरिएको बताए । प्रदर्शनीमा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाहरू उपभोक्तामाझ प्रवर्द्धन गर्दै ‘क्यान इन्फोटेक अफर’ अन्तर्गत छुट योजना सार्वजनिक गरेका छन् । साथै, कम्पनीहरूले उपभोक्तासँग नजिक हुन अन्तर्क्रिया र रमाइला खेलहरू पनि सञ्चालन गरेका छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रूपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार, सम्बन्धित निकायहरू, सूचना प्रविधि व्यवसायी, नीति निर्माता, विज्ञ, शिक्षण संस्था, सञ्चारकर्मी र प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष आह्वान गरेको छ ।