काठमाडौं - वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाखको  पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ । 

गत आवको ६ महिनाको अवधिमा भने तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले  निर्यात उत्साहजनक ढङ्गले बढेको उनले जानकारी दिए ।

अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको सूचना अधिकारी तिवारीले बताए ।

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि  बढेको छ । चालु आवको ६ महिनाको अवधिमा तीन अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । 

गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।