काठमाडौं - निर्देशन विपरीत काम गर्ने तीन बैंक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने प्रभु, हिमालयन र एनआइसी एसिया बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ ।

एनआइसी एसिया बैंकका सञ्चालक, निजहरूका परिवारका सदस्य एवं सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्ध संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेको भेटिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यसरी दिइएको बढी ब्याज रकम फिर्ता गर्न निर्देशन दिएको छ । जस अनुसार निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्ने तथा नगराउने, निर्देशन पूर्ण रूपमा परिपालना गर्न/गराउन एवं सुधारको कार्ययोजना बनाई लागु गर्ने, ब्याजदरसम्बन्धी निर्देशन उल्लङ्घन नगर्न पनि राष्ट्र बैंकले चेतावनी दिएको छ ।

कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाको पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।