काठमाडौं - नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ ।
सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न भन्दै एकसाथ दर्जन कानुन संशोधन गरेको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले भूमिसम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको भन्दै स्वागत गरेका हो । उक्त संशोधनमा भूमिसम्बन्धी व्यवस्थालाई पनि परिमार्जन गरेको छ ।
सरकारको यो सुधारले घरजग्गा व्यवसायीहरुलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले सरकारले ल्याएको अध्यादेश सकारात्मक र स्वागतयोग्य रहेको बताए ।
उनले हाउजिङमा विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए । अध्यक्ष घिमिरेले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न सरकारलाई सुझाव पनि दिए । उनले जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथ आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैंकले लचकता अपनाएर पुनरावलोकन गर्न आग्रहसमेत गरे ।
उनले घर-जग्गाको कारोबार राष्ट्र बैंकका कारण बढ्न नसकेको आरोप लगाए । सरकारले घरजग्गा कारोबारमा ल्यान्डपुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागिता गराउन आवश्यक रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।


0 comment