काठमाडौं - नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले लगानीमैत्री वातावरण तयार गर्न सरकारले अध्यादेश ल्याएकाले लगानीमा सुधार हुने आशा रहेको बताएका छन् ।
बैंकर्स संघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले अहिले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । उनले बैंकहरुमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको मात्रा बढिरहेको भन्दै हाल निष्क्रिय कर्जा ४.५ प्रतिशतसम्म पुगेको बताए ।
उनले निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भनिए पनि निराश हुने अवस्था नभएको बताए । बैंकहरुबाट पछिल्लो समय लगानी नै नभएको भन्ने अवस्था नभएको भन्दै केही प्रतिशत वृद्धि भइरहेको उनको भनाइ छ ।
‘निजी क्षेत्रको मनोबल कमजोर भएकाले लगानी नआएको भन्ने भएको छ । तर लगानी नै नभएको भन्ने अवस्था छैन । केही प्रतिशत वृद्धि भइरहेको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीको ग्रोथ वृद्धि भएर जान्छ भन्ने देखिएको छ । केही क्षेत्रमा आशावादी हुने ठाउँ देखिको छ,’ उनले भने ।
आगामी दिनमा लगानीको वृद्धि भएर जाने अवस्था देखिएको अध्यक्ष कोइरालाको भनाइ छ । उनले जलविद्युत् र पर्यटन क्षेत्रमा लगानीका लागि वातावरण बन्दै गएको पनि बताए ।
‘जलविद्युत्बाट लगानीका लागि राम्रो प्रस्तावहरु आएको छ । बैंकहरुले स्वीकृत गरेका पनि छन् । तर कर्जा जान समय लाग्छ । करिब एक वर्षमा धेरै कर्जा वृद्धि हुन्छ,’ अध्यक्ष कोइरालाले भने, ‘पर्यटन क्षेत्रमा पनि लगानीको वातावरण बनेको छ । अहिले सरकार पनि सक्रिय भएर लागेको छ । अध्यादेश मार्फत नयाँ ऐनहरु आउँदा लगानी मैत्री वातावरणको लागि हो भन्ने छ । त्यसबाट पनि बैंकहरु सुधार हुने आशामा छौं ।’
अध्यक्ष कोइरालाले बैंकहरूले कर्जा रिकभरीका क्रममा कर्मचारीहरूले भोग्नुपरेको हिंसा र आक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले बैंकका कर्मचारीहरूको सुरक्षाको ग्यारेन्टीका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे ।
कर्जा रिकभरीका क्रममा विभिन्न बाधाहरूको सामना गर्नुपरेको बताए । उनले कर्जा रिकभरीमा स्थानीय तहको सहयोगको अभावले बैंकहरूलाई धितो लिलाम गर्न र बेच्न समस्या भइरहेको पनि बताए ।


0 comment