काठमाडौं - नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको रुपमा स्थापित ई-सेवा लिमिटेडले आव ०८०/८१ को १२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कम्पनीको सोमबार भएको साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव ०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र नगद लाभांश वितरण गर्ने सम्बन्धमा छलफल भएको थियो ।
मोबाइल टपअपबाट सेवा सुरु गरेको ई-सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल/कलेजको शुल्क, होटेल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायत दुई हजारभन्दा बढी सेवाको शुल्क भुक्तानीसँगै इजी लोन, ई-स्पिकर, मर्चेन्ट लिंकजस्ता सुविधाको पनि थालनी गरेको छ ।
ई-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन् । हालको समयमा एक करोड ३० लाखभन्दा बढी ई-सेवा प्रयोगकर्ता र करिब दुई लाख ८० हजार एजेन्ट छन् ।
कार्यक्रममा ई-सेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्री, कार्यकारी प्रमुख अधिकृत जगदीश खड्का तथा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरुले उपस्थिति जनाएका थिए ।
कार्यक्रममा कार्यकारी प्रमुख खड्काले नेपालमै पहिलोपटक प्रयोगकर्ताद्वारा निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबोट ईभीएका साथै एजेन्ट लोन दिने सेवाबाट सुरु भएको नयाँ आयामबारे जनाए ।
आगामी दिनहरुमा बचत र लगानीजस्ता नवीनतम् सेवाहरु पनि ल्याएर आफ्ना ग्राहकको हित र सहज वित्तीय व्यावस्थापनका लागि कार्यरत रहने कुरा पनि प्रमुख कार्यकारी अधिकृत खड्काले बताए ।


0 comment