काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सोमबार सम्पन्न भएको साधारणसभाले आव ०८०/८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।

बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाको अध्यक्षतामा सम्पन्न वार्षिक

साधारणसभामा बैंकले आफ्ना सेवा-सुविधाहरुमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाको माध्यमबाट ग्राहकसमक्ष आफ्ना गुणस्तरीय सेवा-प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी काम गर्दै आएको सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले जनाए ।

उनले बैंकिङ क्षेत्रमा विद्यमान प्रतिस्पर्धाको सामना गर्न बैंकले आफ्नो प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै समय सान्दर्भिक कार्य-पद्धतिको विकास गर्ने उद्देश्यले बैंकका आन्तरिक नीति, नियम, निर्देशिका तथा कार्यविधिहरुमा समयसापेक्ष परिमार्जन गर्दै आएको जनाए । उनले भने, ‘बैंकले संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको छ ।’

साधारणसभामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरुको उपस्थिति थियो ।

अध्यक्ष ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदनमाथि सेयरधनीहरुले टिप्पणी गर्नुका साथै बैंक सुधारका निमित्त विभिन्न सुझाव सहितको धारणा राखेका थिए । उक्त टिप्पणी एवं जिज्ञासाबारे अध्यक्ष ढुंगानाले जवाफ दिए ।

साधारणसभामा बैंक सञ्चालक समितिका सदस्यहरु महेश भट्टराई, सुशील घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापाको उपस्थिति थियो ।

साधारणसभामा बाह्य लेखापरीक्षकहरु, बैंकका कानुनी सल्लाहकारहरुलगायत अतिथिहरुको उपस्थिति थियो । साधारणसभालाई कम्पनी सचिव प्रमोद अधिकारीले सहजीकरण गरेका थिए ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ शाखा कार्यालय, ७२ एक्सटेन्सन काउन्टर, ३१२ एटीएम र ९९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छ ।