काठमाडौं - विश्व हिन्दू यूवा अन्तर्राष्ट्रिय समितिले रामनवमीको अवसर पारेर ४६औं विश्व हिन्दु एकता दिवस मनाउने भएको छ। समितिले शनिबार पत्रकार सम्मेलन गरेर बत्तिसपुतलीस्थित् राम मन्दिरबाट प्रारम्भ हुने र्‍याली भुवनेश्वर पशुपतिनाथमा गएर सभामा परिणत हुने भोलिको कार्यक्रममा सहभागी हुन पनि अपिल गरेको छ। र्‍यालीमा नेपाली सेनाको विशेष व्याण्डको टोली रहनेछ। नेपाली सेनाको बग्गी, सशस्त्र प्रहरी टोली लगायतका सुरक्षा निकायको सहभागिता रहने जनाइएको छ।

कार्यक्रममा विश्व हिन्दु महासंघ बासँबारी, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारी, नेपाल विश्व हिन्दू महासंघ, हिन्दु जागरण नेपाल, नेपाल सन्त समाजलगायत थुप्रै धार्मिक संस्थाको सहभागिता रहने छ।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले ४६औं विश्व हिन्दु एकता दिवस विशेष उत्साहको रुपमा मनाइने भन्दै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनले धर्म नमान्नेहरुलाई आउने निर्वाचनमा बहिस्कार गर्ने पनि चेतावनी दिए। नेपालमा रहेको ९३ प्रतिशतभन्दा बढी ॐकार परिवार व्यवहारमा देखिन नसकेको भन्दै अब धर्मको लागि उठ्ने समय आएको उनको भनाइ छ।

विश्व हिन्दु महासंघ २०३७ साल चैत २७ गते रामनवमीको अवसरमा वीरगञ्जको पिपरामा स्वर्गीय राजा वीरेन्द्र शाहबाट उद्घाटन गरेको समेत स्मरण गर्दै उनले भोलिको कार्यक्रममा सनातन धर्म र संकृतिबारे योगदान दिएका संचारकर्मीका साथै नेपाल संस्कृत विश्वविद्यालयमा प्रथम भएकी विदुषीलाई सम्मान गरिने जानकारी दिए। 

नेपालमा धर्मनिरपेक्षता चोर बाटोबाट ल्याइएको भन्दै उनले यसलाई फाल्न जनता उठ्ने बेला आएको बताए। ‘यसलाई फाल्न सम्पूर्ण नेपाली जनताको साथ चाहिएको छ,’ उनले भने। भोलिको धार्मिक सभालाई विभिन्न देशका विशिष्ट विद्वानहरुले पनि सम्बोधन गर्ने उनले जानकारी दिए।

विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष प्रविन घिमिरेले ९३ प्रतिशतभन्दा बढी हिन्दुहरु भएको देशमा सनातनीहरु नै अल्पमतमा परेको जस्तो अवस्था देखिएको भन्दै उनले यो हिन्दुहरुको लागि लज्जाको विषय भएको टिप्पणी गरे। आगामी दिनमा हिन्दु धर्मसँग सम्बन्धित् सबै संघ तथा संस्था एकतावद्ध हुनुपर्ने उनको धारणा छ।

अनन्त विभुषित सनातन धर्म शिरोमणी स्वामी राम बाबाले वैदिक सनातन धर्ममा केही समस्या देखिएको भन्दै उक्त समस्यालाई हटाउन आवश्यक कदम चाल्नुपर्ने बेला आएको बताए।