काठमाडौं - जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ ।

भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो । मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरू सहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन् ।

यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधु सन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो ।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ । नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै  मटिहानी आइपुगेका हुन् ।

मटिहानी राम- सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ । राम- सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउनुहुन्छ ।

अयोध्याबाट आउनुभएका अतिथिलाई मिथिला (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) भोजन गराइएको नगरप्रमुख मण्डलले बताउनुभयो । सोमबार रात्रि विश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने जनाइएको छ ।

साताव्यापी विवाह पञ्चमी महोत्सवको आइतबार मङ्सिर १६ गते नगर दर्शन, सोमबार दोस्रो दिन फूलबारी लीला, आज धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बरशुभ विवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिन्छ ।