काठमाडौं - सरकारले कोरोना महामारीका कारण अध्ययन पुरा गर्न नगरी नेपाल फर्केका विद्यार्थीको पढाइ पुरा गर्न सम्बन्धित देशमै फर्काउन पहल शुरु गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा र इन्जिनिरिङका विद्यार्थीलाई बाँकी पढाइ पुरा गर्न सम्बन्धित देशमै फर्काउने प्रक्रिया अघि बढाएको हो।

शिक्षा मन्त्रालयले चीनलगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्कि आएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाइएका विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, 'यस मन्त्रालयको सूचना पाटी वा वेवसाइटमा राखिएको निवेदनको ढाँचामा विवरण खुलाई मिति २०७८।१२।२५ गते भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।'

चीनबाट फर्केका करिब ५ सय विद्यार्थी इन्टर्नसीपको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पटकपटक सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।