काठमाडौँ - धार्मिक इतिहासकै सबभन्दा लामो ३६० दिनको श्रीमद्भागवत महाअनुष्ठान ११८ दिन पुगेको अवसरमा विशेष कार्यक्रम सम्पन्न भयो ।

पाशुपत क्षेत्र गौशाला भन्डारखाल अगाडि आयोजित सो श्रीमद्भागवत महापुराणको प्रमुखवाचकका रुपमा युवा पण्डित नवराज पराजुली रहनुभएको छ । उहाँका मुखारबिन्दुबाट वाचन हुँदै आएको श्रीमद्भागवत १०८ महाअनुष्ठान नेपालको धार्मिक ईतिहासमा अहिलेसम्मकै सबैभन्दा लामो श्रीमदभागवत महापुराणको रुपमा लिइएको छ ।

बैँकटेश्वर पीठका पीठाधिश अनन्तविभूषित श्री १००८ स्वामी श्री महाराजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो बिशेष धार्मिक समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी) उपाध्यक्ष तारानाथ लुइँटेल, पूर्व माननीय नानीमैया दाहाल, पशुपति नित्य आरती समूहका अध्यक्ष उर्मिला भण्डारी, दक्षिण एशियाली ज्योतिष महासंघका डा. चण्डिकाप्रसाद भट्टराई, श्री हिन्दू प्रतिष्ठानका अध्यक्ष भक्तबहादर तामाङ(कृष्ण), धार्मिक व्यक्तित्व सुशील कोइरालालगायतले भागवत् महाअनुष्ठानको पूर्ण सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुृभयो । सो समारोहमा आमन्त्रित राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कार्यक्रममा आउने प्रतिवद्धता व्यक्त गरेता पनि कार्यक्रम उनी सहभागि हुनुभएन । सो कार्यक्रमको सञ्चालन विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले गर्नुभएको थियो ।