काठमाडौं - आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
 
छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनु भएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । 

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । 

नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।