काठमाडौं - प्राचीन मिथिला क्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ।  मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरी सहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ। दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।

मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ।

देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिलेदेखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।
 
मिथिलाका देवी शक्तिपीठहरुमा कन्या कुमारीहरुले आज धार्मिक महत्वका नदी र सरोवरबाट माटाका नयाँ घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ ।

यस प्रयोजनका लागि आज एकाबिहानैदेखि बस्ती बस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् । 

महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका- ४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१  स्थित राजदेवीस्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ ।

रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्ड सहितका सरोवरबाट नयाँ घडामा जल भर्न बिहानैदेखि झाँकी र बाजागाजासहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ ।