काठमाडौं -  आज असोज कृष्ण औँसी अर्थात्  पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । 

पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश रोकिए आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय मान्यता छ । 

मिथिला क्षेत्रमा पितृपक्षका बेला जलाशयमा गएर तर्पण दिने चलन छ । यसअनुसार आज देशका विभिन्न धार्मिक महत्वका नदी, सरोवर र कुण्डहरूमा एकाबिहानै तर्पण दिनेहरू भरिभराउ छन् ।

आज काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गम स्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेको छ । 

मिथिलामा असोज कृष्णपक्षका १५ तिथि भित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई मैथिल बोलिचालीमा  ‘सोलहसराद’ र ‘पितरपक्ष’ पनि भन्ने गरिन्छ ।

दसैँ, तिहार र छठजस्ता महान चाडवाड अघि पितृहरूलाई तृप्त गर्न एउटा पक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा रहेको छ । 

पितृपक्षको समाप्तिसँगै भोलिदेखि दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुँदैछ ।