काठमाडौं - पूर्वमुख्यसचिव एकनारायण अर्याललाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। भारतमा पक्राउ परेका उनलाई विराटनगर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । म्याद थपका लागि उनलाई भोलि अदालत उपस्थित गराइने भएको छ ।

अर्याललाई मलेसिया जाने श्रमिकबाट गैरकानुनी रुपमा रकम असुल गरेको प्रकरणमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। उनलाई पक्राउ गर्न सीआईबीले मंसिर २ गते नै जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो। आफूलाई पक्राउ गर्न लागेको थाहा पाएपछि उनी दिल्ली उडेका थिए। 

यसै प्रकरणमा पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरलगायत तत्कालीन उच्चपदस्थ कर्मचारी प्रहरी हिरासतमा छन्। सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।