काठमाडौं - पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया रोजगारीका नाममा कामदारबाट अवैध रूपमा रकम असुली गरी विदेश पठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान जारी राखेको छ।

अर्याललाई कहाँबाट पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले खुलाएको छैन। यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्।

उनीहरूमाथि कामदार मलेसिया पठाउने क्रममा अवैध रूपमा रकम संकलन तथा आर्थिक अनियमितता गरेको आरोप छ। सीआईबीले पक्राउ परेकाहरूमाथि ठगी र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।