काठमाडौं - हतियार बोकेको फोटो-भिडियो सार्वजनिक भएपछि प्रहरी हिरासतमा पुगेका तेन्जिङ दावा लामाको जन्मदर्ता शंकास्पद् देखिएको छ। तिव्वतीयन ओरिजीनल ब्लड ‘टिओबी’ नामक समूह बनाएर नेपालमा विभिन्न गतिविधि गर्दे आएका लामा यसका लिडर हुन्। जेनजी आन्दोलनका क्रममा टिओबी लेखिएको ज्याकेट लगाएर आन्दोलनमा गएका उनीहरू विभिन्न सरकारी संरचना तोडफोडमा समेत सक्रिय भएका थिए। 

दावाले प्रहरीमा बुझाएको जन्मदर्तामा नेपाल सरकार र श्री ५ को सरकार दुवै छाप प्रयोग भएको छ। टिओबीका नेता तेन्जिन लामाको जन्मदर्ता र नागरिकता प्रमाणपत्रमा कैफियत भेटिएपछि काठमाडौं प्रहरी परिसरले छानबिन सुरु गरेको हो। उनले सार्वजनिक गरेको जन्मदर्ता प्रमाणपत्रमा २०६३ साल फागुन १० गते वडा कार्यालयबाट दर्ता भएको देखिन्छ। तर, सो मिति शनिबार परेको कारण सरकारी कार्यालयहरू बन्द रहने दिनमा दोहोरो छाप प्रयोग गरेर जन्मदर्ता कसरी भयो भन्ने गम्भीर प्रश्न उठेको छ। 

शनिबारका दिन दर्ता गरेको जन्मदर्ता नक्कली रहेको हुनसक्ने प्रहरी अधिकारीको आशंका छ। एउटै जन्मदर्ता प्रमाणपत्रमा दुईवटा सरकारको छाप लागेको विषयले पनि जन्मदर्तामा कैफियत देखिन्छ। उनको जन्मदर्तामा भएको विवरण अनुसार, उनका बुबाको नाममा कृष्णबहादुर लामा र आमा माया लामा लेखिएको छ। तर, बुबा-आमाको ठेगाना लेखिएको छैन। २०५३ साल माघ २१ गते काठमाडौं-६ बौद्धमा जन्मिएको भनेर २०६३ चैत १२ गते काठमाडौं महानगरपालिकामा दर्ता गरिएको छ। उक्त दिन शनिबार रहेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार बिजुली बजारको पुलमा हतियार लिएर बनाएको भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। उनी र टिओवी समूहको विषयमा अनुसन्धान भइरहेको छ। उनको साथबाट बरामद भएको हतियार पनि परीक्षणका लागि पठाइएको छ। 

लामाको कोठाबाट बरामद भएका विभिन्न कागजपत्र पनि शंकास्पद देखिएको छ। उनी नेपाली नै नभएर अर्को देशबाट आएर नक्कली कागजपत्र बुझाएर नेपाली नागरिकता लिएको हुनसक्ने आशंका गरिएको छ। काठमाडौंमा एक्लै बस्दै आएका लामाको पारिवारिक विवरण पनि खासै सार्वजनिक भएको छैन। उनी नेपालमा बसेर फ्रि तिव्वतको अभियानमा सक्रिय भएको हुनसक्ने र चिन विरोधी मुभमेन्ट चलाएको हुनसक्ने अनुमान र आशंका दुवै गरिएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, उनको जन्मदर्ता, नागरिकता र अन्य कागजात परीक्षणका लागि स्थानीय वडामा पठाइएको छ। त्यहाँबाट विवरण आएपछि मात्रै अन्य जानकारी आउने उनले बताए। जेनजी आन्दोलनका क्रममा ५०/६० जना टिओबी लेखेका समूह सक्रिय रहेको प्रहरीको दाबी छ।

काठमाडौंको बिजुलीबजारस्थित धोबीखोला पुलमा उनले पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि पक्राउ गरिएको थियो। उनीविरुद्ध अनुसन्धान गर्नका लागि अदालतले ६ दिनको म्याद दिएको छ। सामाजिक सञ्जालमा चर्चित भएको फोटो र भिडियो दावाले केही समयअघिको म्युजिक सुटिङका क्रममा खिचिएको बताएका छन्। केहीले भने यो दृश्यलाई हालैको जेनजी प्रदर्शन र विध्वंशका घटनाको क्रममा खिचिएको हुनसक्ने अनुमान गरेका छन्।