काठमाडौं - पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।

महरामाथि २०७९ साल पुस १० गते फ्लाई दुबईको विमान (उडान नं. FZ0587) बाट भित्र्याइएको सुन प्रकरणमा संलग्न रहेको आरोप लागेको छ। सो दिन चिनियाँ राहदानी बोकेका लि हानसोङले ल्याएको २ वटा सुटकेसमा लुकाइएको अवस्थामा ७३० थान भेप भेटिएको थियो। ती भेपभित्र सुन लुकाइएको थियो, जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ पर्ने अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा उक्त सुन भन्सारका तत्कालीन नासु रेवन्त खड्कालगायतको मिलेमतोमा बिक्री गरिएको र त्यसलाई छुटाउन महराले भन्सार कार्यालयमा दबाब दिएको प्रमाण फेला परेको सीआईबी स्रोतले जनाएको छ।

यसै प्रकरणमा महराका छोरा राहुल महरा यसअघि नै पक्राउ परी कारागार चलान भइसकेका छन्। अनुसन्धानलाई थप अगाडि बढाउन सीआईबीले कृष्णबहादुर महरालाई पनि नियन्त्रणमा लिएको हो।

सीआईबीले घटनासँग सम्बन्धित थप व्यक्ति र संरचनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।