काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगजनी हुँदा महानगरको दमकल नपुगेको भन्ने आरोपको खण्डन गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरण दिँदै उनले आगो लागेको समय दमकल परिचालन गर्ने प्रयास भए पनि आन्दोलनकारीको अवरोधका कारण तत्कालीन रूपमा सम्भव नभएको स्पष्ट पारेका छन्।

‘सिंहदरबार जलेको लगत्तै दमकल पठाउने प्रयास गरियो। तर, हुलदंगा र अवरोधका कारण महानगरको दमकल त्यहाँ पुग्न सकेन,’ बालेनले लेखेका छन्, ‘जब भिड शान्त भयो, त्यसपछि मात्र दमकल प्रवेश गर्न सक्यो। २४ गते साँझ ८:१५ बजे महानगरको दमकल सिंहदरबार पुगेको थियो।’

उनले आन्दोलनका दिनहरूमा दमकल, नगर प्रहरी, स्वास्थ्यकर्मी र अन्य टिमहरूले काठमाडौंका विभिन्न ठाउँमा ५० भन्दा बढी स्थानमा आगो निभाएको दाबी गरेका छन्।

बालेनका अनुसार, त्यही अवधिमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रहरी चौकी, बैंक, अस्पताल, र विभिन्न सरकारी कार्यालयहरूसमेतमा महानगरको दमकल खटिएको थियो। साथै, घाइतेको उपचार, खाना, औषधि, लास व्यवस्थापन लगायतका कार्यमा पनि महानगरको टोली सक्रिय रहेको उनले बताएका छन्।
सिंहदरबार जलिरहँदा महानगर चुपचाप बसेको भन्दै मेयर बालेनको सर्वत्र आलोचना भइरहँदा उनले करिब एकमहिना हुनै लाग्दा त्यस दिनको अवस्थाबारे सामाजिक सञ्जालमार्फत स्पष्ट पार्ने प्रयास गरे । उनको यो भनाइमा तर्क वितर्कको ओइरो लाग्न स्पष्ट छ ।