काठमाडौं - सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएका पीडितलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को मंगलबार बसेको बैठकले बाढीपहिरोबाट विस्थापित भएकाहरूलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो।
सरकारले घर भत्किएर विस्थापित भएका पीडितलाई अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवास निर्माणका लागि व्यवस्था मिलाउने जनाएको छ।
अस्थायी आवासका लागि प्रत्येक पीडित परिवारलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। तीमध्ये २५ हजार रुपैयाँ तत्काल प्रदान गरिनेछ भने बाँकी २५ हजार रुपैयाँ एक लेबलको घरको संरचना निर्माण भएपछि मापदण्डअनुसार उपलब्ध गराइनेछ।
सरकारको यो निर्णयले विपद् पीडितको राहत र पुनःस्थापनामा राहत पुर्याउने अपेक्षा गरिएको छ।


0 comment