काठमाडौं - जेन-जी आन्दोलनको क्रममा आगजनी, तोडफोड, लुटपाट तथा आतंक फैलाउनेमाथि कारबाही गर्न अन्तरिम सरकारमाथि दबाब बढिरहेको छ। सरकारी तथा निजी संरचनामा भएको तोडफोड तथा आगजनीबारे छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्न कानुन व्यवसायीदेखि सर्वसाधरणले गृहमन्त्री ओमप्रकाश अर्याललाई ध्यानाकर्षण गराइरहेका हुन्।
भदौ २३ र २४ गते भएको ‘जेन-जी आन्दोलन’को बहानामा सरकारी सम्पत्ति तोडफोड, प्रहरी चौकी जलाउने, हतियार लुटपाट गर्ने, आगजनी र लुटपाटमा संलग्न प्रहरीले कानुनी दायरामा ल्याइरहेका बेला गृह मन्त्रालयले रोक्न निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेलाई छोडेको र पछिल्लो समय कसैलाई पक्राउ नगरेको बताइएको छ
गृहको पत्रमा भनिएको छ,‘काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ बमोजिम जाँचबुझ आयोग गठन भई आयोगले मिति २०८२ आधिन ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ’, मन्त्रालयले भनेको छ, ‘आयोगलाई भौतिक एवम् मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यदिश रहेको हुँदा आयोगबाट कार्यदिश बमोजिम रायसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले कानून बमोजिम गर्ने व्यहोरा जानकारी गराइन्छ। तसर्थ आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रुपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने व्यहोरासमेत सबैमा जानकारी गराइन्छ।’
यो सूचना सार्वजनिक भएसँगै धर्मराज तिमिल्सिनाले गृहमन्त्री अर्याललाई भेटेर लिखित निवेदन बुझाएका हुन्। गृहमन्त्रीसमक्ष दिइएको निवेदनमा जेन-जी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठबाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतङ्क फैलाउने अमानवीय कार्य भएको उल्लेख छ। यस्ता गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदी पूर्ण रहेको भन्दै तिमल्सिनाले ध्यानाकर्षण गराएका छन्।
‘यहि २०८२ साल भाद्र २३ र २४ गते काठमाडौँ लगायत देशका विभिन्न सहरमा जेन्जी समूहले सामाजिक सञ्जालको निर्वाध प्रयोग, भ्रष्टाचार र नातावादको विरोध, सुशासन लगायतका माग राखेर प्रदर्शन गरेको आन्दोलनबाट उत्पन्न असामान्य परिस्थितिको लाभ उठाउँदै जेन-जी आन्दोलनका नाममा अराजक तत्वको घुसपैठवाट देशका विभिन्न स्थानहरूमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट, नागरिकको निर्मम हत्या तथा आतङ्क फैलाउने अमानविय कार्यहरू भएको छ।’, निवेदनमा भनिएको छ, ‘यस्तो गतिविधिले सर्वसाधारण नागरिकको जीवन त्रासदिपूर्ण रहेको छ। नेपालको संविधान बमोजिम प्राप्त मौलिक हक तथा मानव अधिकारको हरण, हनन र हस्तक्षेप भएको छ, र नेपालको संविधान बमोजिम प्राप्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी शान्ति सुरक्षामा प्रतिकूल असर पारेको छ।’
समाजलाई आतंकित पार्ने गतिविधिमा मुलुकी अपराध संहिता ऐन, संगठित अपराध निवारण ऐन, स्थानीय प्रशासन ऐन, सार्वजनिक सम्पत्ति (संरक्षण) ऐनलगायत अन्य प्रचलित कानूनी प्रावधानहरू आकर्षित हुने स्मरण गराइएको छ। उनले विध्वंशकारी मात्रै नभई, विध्वंश गर्न प्रेरित गर्ने योजनाकारहरुलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल छानबिन गरी कानुनी कारबाही गर्न, तोडफोड, आगजनी तथा लुटपाटबाट प्रभावित पीडितहरूलाई न्याय दिलाउन, सार्वजनिक, निजि सम्पत्ति र नागरिकको शान्ति-सुरक्षाको संरक्षणका लागि प्रभावकारी निवारक उपायहरू तत्काल लागू गर्न, नेपाल प्रहरीको मनोबल उच्च बनाउदै शक्ति प्रदान गर्न र विधिको शासन स्थापित गर्न गृह मन्त्रालयलाई अनुरोध गरेका छन्।
घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल छानबिन गरी कानूनी कारबाही गर्न, तोडफोड, आगजनी तथा लुटपाटबाट प्रभावित पीडितहरूलाई न्याय दिलाउन, सार्वजनिक, निजी सम्पत्ति र नागरिकको शान्ति सुरक्षाको संरक्षणका प्रभावकारी निवारक उपाय तत्काल लागू गर्न पनि उनले माग गरेका छन्।
आन्दोलनको नाममा निजी तथा सार्वजनिक सम्पत्ति आगजनी, तोडफोड र लुटपाट गर्ने, नेपाल प्रहरी लगायत आम नागरिकको निर्मम हत्या गर्नेलाई त्यसै छाड्दा अपराधकर्मीको मनोबल बढ्ने साथै नेपाल प्रहरीको मनोबल घट्ने भन्दै विधिको शासन स्थापित गर्न आग्रह गरिएको छ।


0 comment