काठमाडौं - गत २४ गतेको प्रदर्शनमा नेकपा एमालेको केन्द्रीय कार्यालयसहित ६४ वटा पार्टी कार्यालय तोडफोड भएको छ। एमालेका महासचिव शंकर पोखरेलका अनुसार प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ।
पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको उनले बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी र नेताको घर छानी छानी जेनजी आन्दोलनको नाममा घुसपैठ भएर आगजनी भएको बताइएको छ।
बुधबार च्यासलमा बसेको केन्द्रीय कार्यालयको बैठकमा पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गभएक उनले बताए।
‘केन्द्रीय कार्यालयको बैठक च्यासलमा सम्पन्न भयो। बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्यो। प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ। त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ।’ महासचिव शंकर पोखरेलले भनेका छन्।
उनले अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको बताए। राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठेको पनि महासचिव पोखरेलको दाबी छ। उनले भनेका छन्, ‘आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेका छन् । राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्दैछ।’


0 comment