काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्।
उनले लेखेका छन्,ʻस–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु।ʼ
अधिकारी नेपाली कांग्रेसबाट मन्त्री भएका हुन्। उनी कांग्रेस नेता शेखर कोइराला पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री भएका हुन्। यसअघि कोइरालाले आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए। अब उनी निकट तेजुलाल चौधरी, बद्री पाण्डे सरकारमा रहेका छन्। यसैगरी प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ।
अधिकारीले सोमबार जेनजी (छोराछोरी) पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध आफूहरूलाई खबरदारी गरेको उल्लेख गरेका छन्।
उनले भने,ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन।ʼ
पटकपटक युवापुस्ता र जनताले आन्दोलन गरिरहनुपर्ने र सत्तासीनहरूले सदैव असहिष्णुता देखाइ हिंसा गरिरहने विडम्बनाबाट मुलुकले चाँडै निकास पाउनुपर्ने बताए। लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही नहुने उनले बताए।


0 comment