काठमाडौं  - राष्ट्रिय मातृभूमि पार्टीले जेन—जी पुस्ताहरुको आन्दोलनमा भएको युवा नरसंहारको घटनालाई लिएर एक प्रेश विज्ञप्ति जारी गरी सरकारको राजिनामा माग गरेको छ ।

पार्टीका महासचिव गोविन्द गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ — “भ्रष्टाचार, बेथिति, कुशासनका विभिन्न प्रकरणमा चुर्लुम्म डुबेको सरकारलाई सामाजिक सञ्जालको माध्यमबाट चौतर्फी विरोध भएपछि सरकारले केही दिन अघिबाट सामाजिक सञ्जाल सुचिकरणको नाममा प्रतिबन्ध लगाएर जनताको सार्वभौम आवाज दवाउने प्रयत्न गर्‍यो । जनता माझ लोकप्रिय रहेका युट्युव, फेसवुक, म्यासेन्जर लगायतमा प्रतिवन्ध लगाएपछि यसको चौतर्फि विरोध भइरहेको अवस्थामा युवाहरुको जेन—जी पुस्ता आन्दोलित बन्यो । जेन—जी युवा समूहले २३ गते सोमबार माइतीघर, बानेश्वर लगायत देशका विभिन्न प्रमुख शहरहरुमा गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गराई उत्तेजित बनाउने अनि आन्दोलन दवाउने उद्धेश्यले प्रहरीले अनावश्यक बल प्रयोग गरी गोली प्रहार गर्दा निर्दोष युवाहरुको निर्ममतापूर्वक नरसंहार गरिएको छ । यो विज्ञप्ति जारी गर्दाको समयसम्ममा १८ जना युवा तथा विद्यार्थीहरुको ज्यान गएको छ भने सयौंको संख्यामा घाइते भएका छन् । गम्भिर घाइते भएका युवाहरुले विभिन्न अस्पताल भरिभराउ भएर कोलाहलपूर्ण अवस्था उत्पन्न भएको छ । अलिकति पनि विरोध र आलोचना सहन नसक्ने संसदिय व्यवस्था र के.पि.ओली सरकारले गरेको घोर मानवअधिकार हनन् र अमानवीय कार्य अति निन्दनीय र दण्डनीय छ ।

राष्ट्रिय मातृभूमि पार्टी, राज्यका तर्फबाट भएको यो निन्दनीय कार्यको घोर भत्र्सना गर्दै भ्रष्ट अलोकप्रिय र नरसंहारी सरकारको तत्काल राजीनामाको माग गर्दछ । यसै गरी तत्काल मानव अधिकार आयोग, संसद र स्वतन्त्र नागरिक सम्मिलित छानवीन समिति गठन गरेर घटनाको निष्पक्ष छानवीन गरी दोषिलाई कडा कानुनी कारवाही गर्न जोडदार माग गर्दछ । समस्याको शान्तिपूर्ण समाधानको लागि सबै पक्ष संयमित र गम्भिर हुन जरुरी छ । युवा पुस्ताले गरेको आन्दोलनका घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरियोस । जेन—जी पुस्ता माथि भएको बर्बर दमन र हत्याको घोर भत्र्सना र निन्दा गर्दै घटनामा दिवंगत हुनु भएको युवाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना अर्पण गर्दछौं ।”